चाक्चाकुरको नाममा भ्रमको खेती नगरौं

द्वारा प्रकाशित गरिएको हो |
December 27th, 2020
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

मुनु राई
समय परिस्थितिले नयाँ दृष्टिकोण जन्माउन सक्दछ । त्यस्तै विक्रम संवत् २०६३ सालमा चाक्चाकुर पर्वको उदय भयो । यसको गर्भधारण चाहिँ नेपाल किरात कुलुङ संघले गरेको देखिन्छ । २०६३ सालदेखि चाक्चाकुर पर्व विभिन्न स्थानमा मनाइँदै छ । तर, चाक्चाकुर पर्व कस्तो अवस्थामा स्थापना भएको हो भन्ने ऐतिहासिक घटनाक्रम खुलस्त भएको दस्तावेज अहिलेसम्म उपलब्ध भईरहेको छैन ।
विक्रम संवत् २०६३ सालभन्दा अघि चाक्चाकुर पर्व मान्ने गरिएको इतिहास पाइँदैन । शायद चाक्चाकुर शब्दको न्वारान गर्ने साइत नै जुरेको थिएन । अहिले चाक्चाकुरलाई कुलुङ संघका “वरिष्ठ” नेताले आफ्नो पहिचान बोकेको पर्वको रूपमा मान्ने गरेका छन् । विशेष गरी चाक्चाकुर पर्व कुलुङ संघ केन्द्रीय समितिको आयोजनामा मान्ने गरिएको देखिन्छ ।
कुलुङ, सोताङ र पिल्मोङ जातिको मातृभाषामा चाक्चाकुर भनेको पुस महिना हो । उनीहरूले पुस महिनालाई अशुभ मान्ने गर्दछन् । त्यही कारण पुस महिनामा कुखुरालाई अण्डा कोरल्न समेत
लगाउँदैनन् । यो महिनामा विवाहलगायत अन्य शुभ कर्मसमेत गरिँदैन ।
कुलुङ समुदायले मान्ने गरिएको पर्व अरू पनि धेरै छन् । तर, चाक्चाकुरलाई नै अनिवार्य बनाउनु पर्ने किन ? पर्वको महत्व उच्च भएर वा जोरीपारीले आक्रमण गर्न सक्ने खतरा महसुस भएर हो ? अरू पर्वलाई किन साझा नबनाउने ? नयाँ पर्व भएकोले संघले जनसमुदायलाई अभ्यस्त बनाउन यस्तो गरेको होला ।
कसै कसैले “मीनारी दाचाम्री”को उपलक्ष्यमा चाक्चाकुर पर्व मान्ने गरेका बताउँछन् । मीनारी दाचाम्रीको अर्थ हुन्छ मानिसले अन्न भण्डारण गर्नु । परापूर्वकालमा मङ्सिर महिनामा अन्न भण्डारण गर्दथे । घरनजिक बस्तुभाउको गोठ ल्याएर पुस महिनामा वर्षभरी पुग्ने नुन, फलाम, लत्ताकपडा इत्यादि खोज्न घरमूली टाढा टाढा जान्थे । घरमा बस्नेले कोदोको नल फाँडेर थन्काउने र बस्तुभाउ स्याहारसम्भार गर्दथे ।
चाल्स् माइक डुगालले लेखेको “कुलुङ्गे” नामक पुस्तक अनुसार कुलुङहरू एक वर्षसम्म पुग्ने नुन, फलाम, लत्ताकपडा आदिको लागि धरान, ओखल्ढुङ्गा, भोजपुर र काठमाडौँ पुग्दथे । धरान ओहोरदोहोर गर्न १८ दिन लाग्थ्यो भने कुलुङ समुदायलाई काठमाडौ अझ टाढा पर्दथ्यो ।
यदि कुनै ऐतिहासिक घटनाका आधारमा पर्वको नाम चाक्चाकुर रहन गएको थियो भने किंवदन्ती हुनु पर्दथ्यो । त्यस्तो घटना थाहा पाउने अहिलेसम्म कोही भेटिएको छैन ।
चाक्चाकुरलाई नयाँ वर्ष पनि भन्न थालेको पाइन्छ । तर, पुर्खाहरूले असोजलाई अन्न बालीको फूल लाग्ने महिना
मान्दथे । ‘खान्दीरीआ रीखोक्स्’ भनेर खान्दीरी अर्थात् असोज महिनालाई नयाँ वर्षको सुरु महिना मान्ने गरिएको बताउँछन् । असोज महिनालाई शुभ महिना मानिएको हुनाले यस महिनामा कन्या अर्थ पनि
चलाइन्छ । किरात समुदायले मान्ने यले संवत् माघ १ गतेदेखि सुरु हुने निर्णय गरिएको छ । कुलुङ संवत् पुस महिनाको मध्येबाट सुरु हुने भनिएको छ । तर सम्वत्को नाम र सुरु हुने गते चाक्चाकुर पर्वमा सार्वजनिक गर्ने गरिएको छैन । यस अर्थमा चाक्चाकुर पर्वको विशेष महत्व कुन विषयमा केन्द्रित रहेको छ भन्ने पुष्टि हुन सकेको देखिँदैन ।
चाक्चाकुर पर्वप्रति मनोरञ्जनको दृष्टिकोणले युवा पुस्ताको झुकाव बढेको देखिए पनि पुरानो पुस्ताको चासो
देखिँदैन । ऐतिहासिक पर्व भए नयाँ पुस्ताभन्दा पुरानो पुस्ताको संलग्नता बढी हुनुपर्ने
हो । यो पर्व कहिले तराईमा र कहिले पहाडमा आयोजना गरिँदै आएको छ । परापूर्वकालदेखि चलिआएको पर्व हो भने कहिले यता र कहिले उता सारिरहनु नपर्ने हो । कहिले तराई, कहिले पहाड सारिरहनु नपर्ने हो । किनभने, पर्व भनेको निश्चित विधि विधानमा आधारित हुन्छ । चाक्चाकुर पर्व सम्पन्न गर्न के के विधि विधान अपनाउनुपर्ने हो ? यो पर्व कति दिन मनाइने हो, कुन समय र कुन ठाउँमा कसरी मान्नुपर्ने हो ? कसैबाट उत्तर पाउन सकिएको छैन ।
यो पर्व कहिले फुटबल “टुर्नामेन्ट” गरेर मनाउने गरिएको छ । कहिले ख्याति प्राप्त गायक–गायिकाहरू बोलाएर रातभरि नाचगान गर्ने गरिएको छ । कहिले भेषभूषा प्रदर्शन गर्ने गरिएको छ । कहिले कुलुङ जमात भेला गरेर बनभोज खाने गरिएको छ । कहिले व्यापारी तथा खेलाडी जम्मा गरेर मेला लगाएको देखिन्छ । चाक्चाकुर पर्वको मूल विशेषता मेला लगाउनु, भेला भएर वनभोज खानु र दसैं नमान्ने समुदायको रूपमा प्रदर्शन गर्नु जस्तो देखिँदै आएको
छ ।
पर्व मान्नु भनेको पुर्खाको वीरतापूर्ण इतिहासलाई सन्तान दरसन्तान गर्दै युगौंयुग जीवित राख्नु हो । चाक्चाकुरले कुलुङको ऐतिहासिक धरोहरलाई उच्च बनाउन सकेन भने पछाडि धकेलिन पुग्दछ । चाक्चाकुर सत्यतथ्य इतिहास बोकेको पर्वको रूपमा प्रमाणित हुन सकेन भने द्वेष भावनाले कसैको चाडपर्व विरोधी मात्र बन्न पुग्दछ ।
चाडपर्व मनोरञ्जनभन्दा बढी जातीय अस्तित्वको संरक्षण हो । तोस् पूजा ऐतिहासिक पर्व भएको हुनाले सोताङ, पिल्मोङ र कुलुङ समुदायबाट प्रत्येक परिवारले सहभागी जनाउदछन् । अझ जाबुङ तोस्लाई कुनै परिवारले छुटाउन चाहँदैन । तोस् पूजाको लागि चाक्चाकुरलाई जस्तो कुनै संघसंस्थाको निर्देशन आवश्यक पर्दैन । कुनै पनि पर्वले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेन भने स्थायी रूपले सामुदायको आस्था केन्द्रीकृत हुन असम्भव रहन्छ । चाक्चाकुर भनेको पुस महिनाको नाम बाहेक अरू केही होइन भन्ने सबैलाई थाहा छ । तर सोताङ, पिल्मोङ र कुलुङको दसैंको नाम चाक्चाकुर हो भनेर भ्रम फैलाउन उचित नहोला । अन्यथा, अन्धकारभित्र धकेलिएर न घरको न घाटको हुन पुग्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार