‘किरात’ शब्दको उत्पत्ति र अर्थ

द्वारा प्रकाशित गरिएको हो |
December 6th, 2020
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

किन्तु ‘किरात’ शब्दको उत्पत्ति र शाब्दिक अर्थबारे भने विद्वानहरुबीच अनेकौ मतमतान्तर छन् । लगभग ५०० इ.तिर लेखिएको भागवत(महापुराण, ५, ८, १६ मा ‘शत(स्वाठ मूर्ख) किरात’ भनिएको छ । तसर्थ कसैले किरात शब्द आदरअर्थी होइन, यसलाई असभ्य र जंगली अर्थको रुपमा प्रयोग भएको पनि भनेका छन् । कसैले कैलाश पर्वत हिमशृंखलाहरु भएको अति शुद्ध पवित्र सत्य भूमिलाई किरात भनिएको हो भनेका छन् । कसैले कैलाश पर्वत हिमशृंखलाहरु भएको अति शुद्ध पवित्र सत्य भूमिलाई किरात भनिएको हो भनेका छन् । किरात मुन्धुमी भाषामा “काई + लाशो” को अर्थ हुन्छ नाता सम्बन्ध + पवित्र आसन । त्यसबेलाका मानिसहरुले हिमाललाई सर्वाेच्च आत्मापरमात्मा बस्ने पवित्र स्थान भनी काईलाशो वा कैलाश भन्दथे । यही कोईलाशो शब्द अपभ्रंश हुँदै काईलाशी, कैराती वा किरात भएको हो । यही पवित्र ठाउँमा जन्मे हुर्केका, फैलिएका मानव जातिलाई ‘किरात’ भनियो ।
यो किरात शब्द फारसी भाषाको अपभ्रशरुप हो कि भन्ने पनि कसैकसैले झल्काएको पाइन्छ । यो भाषामा पर्वत वा पहाडलाई ‘कोह’ र माला वा लहरालाई ‘लता–लतिका’ अर्थात् एकपछि अर्काे उभिएका असंख्य पर्वतहरुको मालालाई एकै शब्दमा भन्नुपर्दा कोहलात, कलात भनियो । त्यसैले आजको(नेपालको सुदूरपश्चिमपट्टि पाकिस्तानी भूभागमा बग्ने) सिन्ध नदी(किरात भाषामा हिँडी) देखि लिएर नेपालको पूर्वपट्टिको भारतीय क्षेत्रमा बग्ने ब्रह्मपुत्र नदी(किरात भाषामा हाङपोडी) सम्मको पर्वतमालाई कलात भनिन्थ्यो । यसैले सम्भवत कलातवासीलाई ‘कलाती’, ‘कलाती’ शब्द अपभ्रंश हुँदै ‘किराती’ वा ‘किरात’ भनिएको हो ।
“अर्थ नभएको शब्द हुदैन । अर्थ नभएको नाम पनि हुँदैन । संसारमा कुनै पनि भाषाको शब्द होस्, नाम होस्, त्यसमा अवश्य नै अर्थ हुन्छ । ठीक त्यस्तै रीतिले किरात शब्दको पनि आफ्नो अमूल्य ऐतिहासिक अर्थ छ । तर दुर्भाग्यले गर्दा आजका किरातहरुले आफ्नै नामको अर्थ बुझ्न छोडे । आफैले बस्ने गाउँको नामको अर्थ बुझ्न छोडे । आफ्नो इतिहासलाई त सधैँको लागि बिर्सिसके” भनी चित्त दुखाउँदै डा.स्वामी प्रपन्नाचार्य किरात शब्द संस्कृतिबाट अर्थसहित उत्पति भएको ठोकुवा गर्दै अगाडि लेख्दछन्– “संस्कृतमा हाम्रो असली व्याकरण र कोषले किरात शब्दको दुई भाग गरेको देखिन्छ । एउटा ‘किर’ र अर्काे ‘अत’ । ‘किर शब्दको अर्थ समुद्रपर्यन्त भूभाग हो । अनि अतः शब्दको अर्थ निरन्तर गमन गर्नु हो । यसो हुँदा ‘किर = समुद्रपर्यन्त भूभागमा अतन्ति सातत्तेन = गच्छन्ति ये, ते किरात अर्थात् नेपालदेखि लिएर समुद्रसम्मको भूभागमा निरन्तर गएर जसले पराक्रमले जितेर शासन गर्छन् ती किरात हुन् । आफ्नो बल, बुद्धि, पौरुषले समुद्रसम्मको भूभागलाई जितेर शासन गर्ने भएका हुनाले नै ‘किरात’ नाम परेको हो ।” लेखकका यी सबै विचारमा सहमत हुन सकिन्न । किनकि किरातीले बुझ्ने गरेका देवता(पारुहाङ, सुम्निमा) नदीनाला, हिमाल, पहाड आदि सबैमा आदिम किरातीय नामहरुलाई बलात् मेटेर आर्यकृत, विकृत गरिएका छन् ।
‘किरात’को न्वारान चाहे जस्तोसुकै कारणाबाट भएको होस्, पूर्वाद्ध ऋग्वेदकालमा देव, दानव, दैत्य, सुर, असुर सबै नै आर्य, सबै नै अनार्य छासमिस अर्थात् उचनीच जातीय श्रेणीहीन अवस्थामा थिए । किन्तु उत्तराद्र्धमा जब ‘विराटपुरुष’ (ब्रह्मा) बाट चार वर्ण वा चार जातिको उत्पत्ति भएको मिध्याकथन(झुट्ठा भनाइ) ऋग्वेदमा घुसाइए पश्चात् जातीय विशिष्टवादको प्रादुर्भाव(उदय) भयो । फलतः त्यहीदेखि ‘किरात’ एक छुट्टै प्रजातिको स्पष्ट पहिचानबाट प्राचीन संस्कृति साहित्यहरुमा महत्वपूर्ण स्थान ओगट्दै आएको पाइन्छ ।
‘किरात’ शब्द स्पष्ट रुपमा ‘किरातार्जुन संवाद्(हिन्दू धार्मिक पुस्तक) मा पनि देखा परेको छ । यो संवादमा महाभारत युद्ध अगावैका घटनाहरु अर्थात् सो युद्धको पूर्व तयारीबारे चर्चा चलेको छ । यस अगाडि र पछाडि लेखिएका संस्कृत ग्रन्थहरुमा ‘किरात’लाई इङ्गित गर्ने संज्ञाहरु– मरुत, तृत्सव, कपर्दी, घोरअघोर, दास, दस्यु(डाकु), यक्ष(मदनयत), शाक, शकैमदी, सूष, श्यन, शुषन, मेश, कोशी, कौशिक, दैत्य नाग, नागा, राक्षस, दानव, कुभण्डा, कारौती, बाँदर, भालु, बंगृद्ध, आदि इत्यादि छन् । पछिपछि देव, महादेव रुद्र, रुद्रशा, शोम, भोलानाथ, पशुपतिनाथ संज्ञामा पनि यिनै किरातलाई पाइन्छ ।
उपरोक्त नामहरुबाट मात्र आदिम किरातको परिचय पूर्ण हुँदैन । थप जानकारीका लागि पुनः ऋग्वेदमै प्रवेश गर्नुपर्ने हुन्छ । ऋग्वेदका रचियताहरु पनि आर्यगणकै साथ लागि करिब ई.पु. ३००० तिर सर्वप्रथम भारतीय उपमहाद्वीपको सिन्धु क्षेत्रमा आक्रमण गरी भारत प्रवेश गरेका थिए । उनीहरुले यही क्षेत्रमा द्रविड प्रजातिका अनेक जातजाति र आदि किरातहरुलाई पनि भेटेका थिए । अतः आर्यहरुले त्यहाँका रैथाने बासिन्दाहरुलाई आफूहरुभन्दा हरेक कुरामा सर्वथा भिन्न पाए र कैयौ रैथानेले युद्ध नगरी आत्मसमर्पण नगरेकाले उनीहरुदेखि आर्यगण क्षुब्ध थिए । यसैले उनीहरुलाई टेरपुच्छर नलगाउने जातिलाई ‘शुद्र’भनी अपमान गर्न थाले । ‘उद्धत प्रकृतिका आर्यहरुलाई स्थानीय सरल आदिवासीप्रति घोर घृणा र शत्रुता थियो । यसैले उनीहरुले आफू र पराजित आदिवासी शुद्रहरुबीच किमिस किसिमका बाधाहरु खडा गरेर ती शुद्रहरुप्रति घृणा र क्रोध अभिव्यक्त गर्ने गर्थे । फलत यहीँबाट जाति(चार वर्णका) भेद व्यवस्थाको सूत्रपात भएको ठम्याउने धेरै समाजशास्त्रीहरु छन् ।” आदिवासीविरुद्ध त्यसरी रीस र घिन अभिव्यक्त गरेका वाणीहरु ऋग्वेद तथा पौराणिक साहित्यमा केलाउने हो भने त्यसबाट किरातको सजीव चित्र उतार्न सकिन्छ । वेदले आर्यलाई गौरा, अग्लो र सुन्दर मोहडाको भनेको छ र किरातलगायतका आदिवासी चाहिँ काला, पहेँला वर्णका र आर्यभन्दा पुड्का, नेप्टा(अनास, वैदिक देवताप्रति उदासहन(अदेव्य), यज्ञ हवन आदि नगर्ने(अयज्वन), भिन्ने धर्मवाला(अन्वर्यता), संस्कृतबाहेकका अस्पष्ट भाषाभाषी(मुधवाक), लिंग(शिव) पुजक(हिह्न देव्य), स्नान र मन्त्र उच्चारण नगरी भातखाने आदि भनिएका छन् । प्राचीन अनुवाद “मंगोलइद”भन्ने वर्ग(वीरवंशशास्त्र बमोजिम संसारको समस्त मनुष्य प्रजातिहरुको नश्लअनुसार वर्गीकरण गरिएका ५–७ वर्गमध्येको) खडा गरी त्यसैभित्र प्रस्तुत किरात जातिलाई पनि समावेश गरिल्याएको त भर्खरै मात्र हो । तर नेपालका केही किरात भने किरातको पर्यायवाची अंग्रेजी शब्द त्यही मंगोलइद वा मंगोल आफूलाई ठानी वर्ग गर्दै सोही नाममा राजनीतिक दलसमेत खडा गर्न उद्दत देखिएका छन् । किन्तु प्रस्तुत मंगोलइद वा मंगोल शब्दले किरात जातिको आदिम सभ्यता र इतिहासलाई खुलस्त गर्न सक्दैन । हिन्दु, बौद्ध, ग्रीक, पारसी आदि धार्मिक ग्रन्थहरुले स्वीकार गरेका संज्ञा ‘किरात’ नै हो । हाम्रो मुलुकमा यही शब्दले मात्र बरु मंगोलइद प्रजातिको पनि आदिम सभ्यता र पृष्ठभूमिलाई पूर्ण रुपमा प्रतिनिधित्व गर्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार