दशै बहिष्कार कति उचित कति अनुचित ?

द्वारा प्रकाशित गरिएको हो |
October 11th, 2020
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । दशै हिन्दूहरुको महान् चाड भनिएको छ । नेपालीहरुको चाड भनेर यसलाई राष्ट्रिय पर्व पनि मानिएको छ । यो पर्व निकट भविष्यमै आउनेवाला पनि छ । आदिवासी भूमिपुत्रहरुका लागि दशै कुनै ठूलो चाड पर्व नभई एक आयातित पर्वको रुपमा मानिएको छ । भूमिपुत्रहरु प्रकृतिपुजक रहँदै आएका छन् नकि मूर्तिपूजक । किरातीहरुको थुतुरीवेद, किंवदन्ती र मुन्धुमहरुले पनि यसै भन्दछन् । छहराले पनि ३ दशकयतादेखि हिंसात्मक शैलीको भएको कारण पनि दशै वहिष्कारको नारालाई युक्तिसंगत ठानी जोडदार आवाज उठाउँदै आएको हो । यसको आर्थिक क्षेत्रमा पर्ने व्ययभार र खर्चिलो तडकभडक त आलोचित छदैछ, समाजमा यस पर्वले दिने सन्देशलाई लिएर पनि दशै बहिष्कारको आवाज उठेको हो, केही वैज्ञानिक आधारबाहेक ।
मान्छे विवेकशील प्राणी हो । उसले के कुरा ठीक र के कुरा बेठीक हो जान्न बुझ्न सक्दछ । कुन कुराले समाजमा कस्तो प्रभाव पार्दछ र कुन कुराले समाजलाई कता डो¥याउँदैछ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । जातीय विविधता भएको मुलुकमा कुनै जातिले मानेको चाडपर्व त्यस जातिकै लागि समेत संशोधनीय र समयअनुकूल हुनुपर्ने मागहरु उठिरहेका हुन्छन् । परिवर्तनको नियमलाई मान्ने हो भने कुनै परम्परा र संस्कृति समेत सदैव एकैप्रकारको रहिरहने भन्ने हुँदैन परिवर्तनको अनिवार्यतालाई अस्वीकार गरेपनि परिवर्तन भैरहेकै हुन्छ ।
शुम्ब–निशुम्ब वध गरिएको कथालाई जोडी राम र रावणको कथालाई जोडी, चैते दशै र बडा दशै मान्नु, विजय दशमी र नवदुर्गा भवानी मान्नु, काली र दशहरा मनाउनु आदिमा दशै भित्र एक रुपता पाइदैन । अझ हाम्रो जातीय समाजको संरचनालाई भत्काउन रावण मंगोलको पुर्खा हो, दशै आर्यहरुको चाडपर्व हो भनिनु जस्ता आपत्तिजनक अभिव्यक्ति र प्रचलनहरुले गर्दा राष्ट्रिय पर्व भनिएपनि दशै बहिष्कार गरिनुपर्ने र भन्नुपर्ने बीचमा विवादास्पद तार्किक निष्कर्ष निस्किएको हो । दशैलाई भूमिपुत्रहरुले बहिष्कार गरिदिएको हो । जातीय साम्प्रदायिकता बढाउने र आडम्ब एवं पाखण्ड प्रदर्शन गर्ने नाममा दशैलाई ब्याख्या गर्न थालिएपछि नै दशै बहिष्कार गर्न सुरु भएको हो । र पनि आठपहरिया राईहरु पूर्वका थारुहरु र किरातहरुले दशैलाई मान्ने गरेको पाइन्छन् । अक्सर गरेर यो दशैलाई चैते दशैको रुपमा मानिन्थ्यो । किरातहरु दशैलाई ‘दोसाई’ भन्दछन् । किरात बान्तावा भाषामा ‘दोसाई’ भनेको भोज खानु, रमाइलो गर्नु, बालीमा काम नगरी छुट्टि(खाचोङ्मा) मनाई जाड, रक्सी, मासु, फलफूल जुटाई पुजा आराधना गर्नु भन्ने अर्थमा पितृहरुलाई पूजाआजा गरी आफन्तहरुलाई खान दिने र सानाहरुलाई आशिर्वाद दिई यो चाड पर्व मनाईदै आएको हो । यसो गर्दा सेतो टिका, जमरा लगाइन्छ । सेतो टिकालाई पवित्र उज्यालोको प्रतिक मानिएको छ । ‘दोसाई’को उपलक्ष्यमा किरातीहरु सेतो टिका वा सेतो पिठो कुममा लगाउने, सेतो पगरी वा फेटा लगाउने वा मान्यजनहरुबाट लगाइ माग्ने गर्दछन् । रातो रंगले हत्या हिंसा समेत सम्झाउने हुँदा सेतो टिका, जमरा लगाउने, पिङ्ग खेल्ने, मिठो मसिनो खाने, आफन्तहरुसँग भेटघाट गर्ने, पितृपूजा गर्ने, सन्तानहरुलाई आर्शिवाद दिने गर्ने चलन चल्दै आएको हो । अहिले आएर दशै बहिष्कारको नारा चर्किएको छ । दशैलाई कुन रुपमा लिने वा पुरै बहिष्कार किन गर्ने ? भन्नेहरुले पनि कसरी मान्ने ? मान्नु कति उचित छ, कति अनुचित छ ? आदि विषयमा छहरा साप्ताहिकले यसपटक मत सर्वेक्षण गर्ने जमर्काे गर्यो । पाठकहरुको भावनालाई ध्यानमा राखेर नै यसो गरिएको हो । विभिन्न महानुभावहरुको मतअभिमत दशै मान्ने वा नमान्ने बारे धारणा यस्तो छ ।
डम्बर बहादुर मगर रामेछापका अनुसार दशै हामी मूलवासी, भूमिपुत्रहरुको लागि होइन, यसको बारेमा मनाइनुका कारण र भनाईहरु हेर्दा यो मान्नु ठीक छैन भन्ने लाग्दछ । अरुको भनाईको लहलहैमा लागेर र अरुले मनाएको देखेर अनुकरण गरी यो चाडपर्व मनाइएको हो । अनुकरण र देखासिखीले मनाएको हुनाले यो चाड हामीले मनाउनु हुँदैन भन्ने लाग्दछ । जसले मनाउँदैछन् उनीहरु प्रति खास आपत्ति छैन ।
थुप्तेन लामा(स्वतन्त्र पत्रकार) हाम्रो जातिले दशै मनाउँदैन, हामीले त ल्होसार मनाउँदछौ । ल्होसार हाम्रो ठूलो र महान पर्व हो । दशैमा काटमार हुन्छ र यो हिन्दूहरुको मात्र चाड हो । हामी बौद्धहरुले किन दशै मान्ने ? हाम्रो परम्पारा, रीतिरिवाज भित्र दशै पर्व पर्र्दैन । रातो टिका लगाइन्छ तर हामीले रातो टिका लगाउनु हुँदैन । संसार अनित्य छ र नित्यको खोजी गर्नुपर्दछ भन्ने हाम्रो बौद्ध दर्शमा छ । यस्ता चाडपर्व र मनोरञ्जनमा खर्च गरेर ठूलो फाइदा पनि हुँदैन । दशै मनाउनु र रमाइलो गर्नु कुरै के भयो र ? अहिले हाम्रो जीवन नै कति निराशापूर्वक छ, कति खल्लो छ । हिन्दू मात्रको महान् पर्व दशै भएकाले यस्तो अवस्थामा अरुले विरोध गर्नु हुँदैन ।
हरिजंग लामा(बौद्धमार्गी)काभ्रेका अनुसार दशैमा हिंसा गर्ने भएको हुँदा हिंसा गरि मनाइने दशै हामी मान्दैनौं । शिम्ब र निशुम्ब मारेर हिंसा गरेर टिका लगाइएको संकेत यसमा पाइन्छ । हाम्रो पुर्खाहरुले पहिले देखिनै मान्दैनथे । पछि आएर शाह वंशका राजाहरु र राणाहरुले धम्की दिएर दबाबमा पार्दा यो मान्नुपरेको थियो । तर यो स्थायी रुपमा महत्व दिएर मानिएको थिएन । दशै हाम्रो पर्व होइन पनि । अतः यस कुरालाई बुझेर दशैं नमानौं भन्छु म हाम्रा समुदायलाई । हाम्रो आफ्नै चाडपर्वहरु छन् । त्यसैलाई मानौ, मनाऔं । म बौद्धमार्गी भएको हुनाले यस्ता चाडपर्वहरुलाई त्यति महत्व दिन्न । किनभने हिंसा र हत्याको विजयको प्रतिक यो चाड मान्नु राम्रो होइन । यो धर्मीहरुले मान्ने चाड पनि होइन ।
ताम्लागु क्याप(पूर्व सदस्य सचिव, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान) हिन्दू मात्रको दशै राष्ट्रिय चाड भने पनि हामीले पहिले देखि नै नमानेको कारण दशैलाई नमानेको हो । यसलाई परम्परागत कारणले नै गर्दा मनाइदैन । तर अहिलेको स्थिति हेर्दा यो स्थितिले दशै मान्नेहरुलाई असर पारेको छ । दशैभित्र ब्राह्मणवादको गन्ध भएकोले हामी ब्राह्मणवाद विरोधीहरुले मान्नु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता हो ।

भीम गुरुङ(गोर्खा राजनीतिज्ञ) दशै नमानेको धेरै वर्ष भयो । त्यो भन्दा अगाडि नबुझि मनाइन्थ्यो अहिले आएर हेर्दा यसो गर्नु बेठीक रहेछ भन्ने लाग्यो । धर्मनिरपेक्षताको भावना र मर्मलाई लिएर अब दशै बहिष्कार गरिन्छ । मान्यहरुलाई विरोध छैन । सबैलाई आआफ्नो कुरा मान्ने छुट छ । खुल्ला स्थिति हो । नमान्नेलाई पनि त्यतिनै छुट छ जति मान्नेलाई छ । हाम्रो धर्म संस्कृतिभित्र पर्दै नपर्ने हुनाले हामीले दशै नमान्ने विचार गरेको हो ।
गोपाल आचार्य(वरिष्ठ पत्रकार) देशमा कोरोना महामारी बढेको अवस्था छ, जताततै कोलाहलै कोलाहल छ । यस्तो अवस्थामा चाडपर्व मनाउनु, रमाइलो गर्नुको अर्थ छैन । हत्या, हिंसाको सन्देश फैलाउने हिसाबले दशै मनाइनु हुन्न । देशमा भएका सबै धार्मिक, सांस्कृतिक चाडपर्वहरुलाई समय अनुसार मान्नुपर्ने, सुधार गर्नेपर्ने र कति त छोड्नै पर्ने पनि हुन सक्छ । दशैको बारेमा विवाद भएकोले यसलाई मान्यहरुले पनि सुधार गरेर मनाए राम्रो हुन्छ । यिनै कारणहरुले गर्दा विगत ५÷७ वर्ष यतादेखि दशै हल्का रुपमा मात्र मनाउँदै आएको छु । परम्परागत रुपमा बलि दिएर तमासा देखाएर आडम्बर प्रदर्शन गर्न दशै तिहार जस्ता चाडपर्वहरु मनाइदिनु हुँदैन ।

राम लिम्बू(विद्यार्थी) दशै विगतदेखि नै मनाउन छोडिएको छ । केही बुझेरै नमनाइएको हो । किन मनाउने भन्ने सकारात्मक अर्थ नै भेटाउन सकिन । धर्म निरपेक्षताको मर्म र भावनालाई आत्मसात गर्नुपर्दछ । यसको संरक्षणका लागि सांकेतिक विरोध जनाउनको लागि पनि दशै बहिष्कार गरिएको हो ।
गणेश राई(व्यवसायी) सानोमा छदा मनाइने गरिन्थ्यो पछि आएर केही बुझियो र मनाउन छोडियो । ४ दशक अघि छहराकै वहिष्कार गर्नुपर्छ भन्ने समाचारको कारण मेरो परिवारलगायत धेरै परिवारले दशै मान्न छाडेका हुन् । तथापी यस सम्बन्धि मैले पुरै अध्ययन गर्न भने बाँकी छ । हामीले पहिले दशैमा सेतो टिका लगाउथ्यौ । पहिला जस्तै खानपिन गरेर रमाइलो भने गरिन्छ । दशैमा मात्र भेटघाट गर्नेभन्ने मानमनितो गर्ने भन्नेकुरा छैन । अरु बेला पनि गरे हुन्छ । दशै र तिहारले गर्दा कति मान्छे आर्थिक संकटमा पर्छन् । यसतर्फ कसैले सोचेको छ कि छैन जिज्ञासाकै विषय बनेको छ । टिका लगाउनेहरुलाई हाम्रो गाउँतिर राम्रो मानिदैन । गाउँघरमा जसरी पनि तडकभडकको देखासिखी गरी घरखेतै बेचेर भएपनि दशै मान्ने चलन आफैमा रुढिवादी परम्पराको निरन्तरता हो । यस प्रकारको क्षणिक मनोरञ्जनले कति परिवार क्रमश बेघरबार हुन्छन्, भएका पनि छन् । यसतर्फ सोच्नुपर्ने पनि भएको छ । अतः दशै माने पनि सरकारले तडकभडक देखासिखी गर्ने परम्परालाई निस्तेज पार्ने नीति अवलम्वन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार